विश्वकप छनोटको खेल स्थगित

0
247

चीनबाट सुरु भएर विश्वभर फैलिरहेको कोरोना भाइरसको त्रासले विश्वभरका खेलकुद प्रतियोगिता प्रभावित भएका छन् । यहि कोभिड – १९ कै कारण फिफा विश्वकप २०२२ तथा एएफसी एसिया कप २०२३ अन्तर्गत मार्च र जुन महिनामा हुने समूह चरणका खेलहरु स्थगित गरिएका छन् ।

एसियाली फुटबल महसंघ (एएफसी) का सदस्य राष्ट्रबीचको आपसी समझदारीमा विश्वकप छनोटलगायत जुन महिनासम्म तय भएका सबै अन्तर्राष्ट्रिय फुटबल गतिविधि स्थगित गरिएको छ । यसमा , ओलम्पिक महिला फुटबल छनोट , एएफसी फ़ुटसल च्याम्पियनसिप लगायत समावेश छन् । यो प्रतियोगिता फिफा फ़ुटसल विश्वकपको छनोट चरण पनि हो ।

विश्वकप छनोटअन्तर्गत मार्च १६ देखि ३१ सम्म हुने तय भएका ३२ खेल यसअघि नै स्थगित भएका छन् । छनोट चरणको समुह ‘बी’ मा रहेको नेपालले मार्च १६ मा चाइनिज ताइपेई र मार्च ३१ मा अस्ट्रेलियासँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्ने तालिका थियो । अखिल नेपाल फुटबल संघका महासचिव इन्द्रमान तुलाधरले एएफसीसँगको छलफल तथा नेपाल सरकार स्वास्थ्य मन्त्रालयको परिपत्रअनुसार मार्चमा हुने खेल आयोजना गर्न नसकिने जवाफ पठाएपछि खेल स्थगितको निर्णय भएको बताए । उनले भने , ‘सरकारले नै सभा सम्मेलन र भिडभाड हुने गतिविधि नगर्न भनेको कुरा हामीले एएफसीलाई पठाएर मार्चमा हुने दुवै खेल आयोजना गर्न नसक्ने जानकारी गराएका थियौं ।’

जुन ४ देखि ९ सम्म हुने अर्को चरणको ३१ खेल पनि एएफसीले सोमबार नै स्थगित गर्ने निर्णय गरेको छ । जसमा ४ जुनमा नेपालले जोर्डनसँग होम म्याच दशरथ रंगशालामै खेल्नुपर्ने थियो ।  कोरोना भाइरसको त्रास कम भएपछी एएफसीले नयाँ तालिका सार्वजनिक गर्ने जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here